काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका कारण राष्ट्रपतिको सवारीका बेला सडक अवरोध भएको र आलोचना चाहिँ राष्ट्रपतिले खेप्नु परेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकम विशेष समय लिएर बोल्दै सांसद पन्तले उक्त आरोप लगाएका हुन्।
‘संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति फर्किँदा भएको जामको विषयलाई देशभरी संसद्, सरकार र राष्ट्रपति संस्थाप्रति नै नकारात्मक टिप्पणी भइरहेका छन्। दोष राष्ट्रपतिको हैन। यो भन्दा अगाडि रामवरण यादव हुँदा पनि पटक–पटक आलोचना भयो र उहाँले प्रकृयालाई सजिलो बनाइयोस् भनेर अनुरोध गर्नुभयो।’
वर्तमान राष्ट्रपतिले पनि सरल बनाउन प्रयास गरेको उनले बताए। सरकारले सवारी चलाउने मापदण्डलाई लोकतन्त्र अनुकूल खुकुलो र सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त बनाउनेमा ध्यान नदिएको उनको आरोप छ।
सांसद पन्तले भने, ‘सरकारले उपयुक्त पाइला नचाल्ने तर राष्ट्रपति जस्तो गरिमामय संस्थाले आलोचना भोग्नुपर्ने स्थिति सुखद हैन।’
प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त सम्बोधन गर्न शुक्रबार बानेश्वर पुगेकी राष्ट्रपति भण्डारीका कारण भएको सवारी अवरोधले उक्त दिन राजधानीको जनजिवन प्रभावित भएको थियो। उक्त विषयलाई लिएर चर्को असन्तुष्टिहरु पनि व्यक्त भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।