काठमाडौं- नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेलामा जनताले पाएको दुःखप्रति असन्तुष्टि जनाएकी छिन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा सम्बोधन गर्दै उनले त्यस्तो शैलीका कारण जनताले लोकतन्त्रको अनुभूति गर्न नसकेको बताइन्।
‘सुरक्षा निकायका अधिकारीहरु लगाएर आफ्नो भक्तिका लागि शक्तिको चरम दुरुपयोग गरेर, डाक्टर पिटेर सर्वसाधारण जनतालाई दुःख दिएर राजारानी जस्तै हिजोकै तामझाम र तडकभडक शैली र प्रवृत्तिले गर्दा आज जनताले लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन्’, उनले भनिन्।
यादवले यही हो हामीले दुःख गरेर ल्याएको लोकतन्त्रको अभ्यास? भन्दै प्रश्न गरिन्। उनले आइन्दा यस्तो संस्कृतिको विकास नहोस् भन्ने सचेत पनि गराइन्।
गत शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउने र सम्बोधन गरेर फर्किने क्रममा अपनाइएको सवारी शैलीलाई लिएर आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।