काठमाडौं- २०७३ पुस १३ गते मोरङको साविक पाटी गाविस-१ स्थित आफ्नै घरमा मृत भेटिएका थिए हंशबहादुर राई। कान काटिएको, टाउकाको पछाडिको भागमा ठूलो चोट लागेको, गिदी निस्किएको र रगत लतपतिएको अवस्थामा उनको शव भेटिएको थियो।
शवकै केही पर उनकै श्रीमती ऐश्वर्य भनिने ओइसरा राई सुतिरहेकी थिइन् भने रगत र कपाल लागेको बन्चरो समेत भेटिएको थियो।
बन्द कोठाभित्र मृत श्रीमानसँगै श्रीमती ओइसरा समेत भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। प्रहरी अनुसन्धानको क्रममा श्रीमती ओइसराले समेत श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन्। धारिलो हतियार प्रहारबाट हत्या गरेको भन्ने पोष्टमार्टम रिपोर्ट समेत आएको थियो।
अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेकी ओइसरालाई स्वास्थ्य अवस्था ठिक नभएको भन्दै पुस २२ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान भर्ना गरिएको थियो। उनी फागुन ३ गते मात्रै डिस्चार्ज भएकी थिइन्।
त्यसपछि नियन्त्रणमा लिएर ओइसरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी समक्ष उनले श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन्। ‘बेला-बेलामा मान्छे नै बेपत्ता हुन्थे। घरमा खाने चामल समेत हुँदैनथ्यो। कहाँ गएको थिइस् भनेर सोध्दा उल्टै गाली गर्थ्यो। रिस उठेपछि बन्चरोले ठाउकोमा हानेर ऊसँगै म सुतेको हुँ। रक्सीको कारण निदाएछु। उसको मृत्यु मैले थाहा पाइनँ। बिहानमात्रै गाउँलेहरु आएर ढोका खोलेर हेर्दा श्रीमानको मृत्यु भएको थाहा पाएको हुँ,’ ओइसराले प्रहरी समक्ष बयान दिएकी थिइन्।
जिल्ला अदालत मोरङमा बयानको क्रममा ओइसराले भनिन्, ‘२०७३ पुस १२ गते राति म र श्रीमानबीच झगडा भएको थियो। श्रीमानले मलाई खुकुरीले हाने तर लागेन। म बिरामी पनि थिएँ। मैले बन्चरो प्रहार गरेँ या गरिनँ थाहा भएन। बारदात भएको बेलामा अरु कोही थिएनन्।’
जिल्ला अदालत मोरङका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले २०७३ चैत २७ गते जन्मकैद हुने ठहर गरेको थियो। जन्मकैदको फैसला गर्दा चर्को पर्न जाने भएकाले चित्तमा लागेको भन्दै उनलाई १२ वर्ष सजाय हुने फैसला सुनाइएको थियो।
जिल्लाको फैसलाविरुद्ध ओइसरा उच्च अदालत विराटनगर पुगेकी थिइन्। आफू बिरामी भएको र श्रीमानलाई कुटेको समेत थाहा नभएकाले सफाइ पाउनुपर्ने माग गर्दै उनी उच्च पुगेकी थिइन्।
पछि उच्चका न्यायाधीशद्वय उमेशराज पौड्याल र साधुराम सापकोटाको इजलासले २०७४ फागुन २२ गते फैसला गर्दा जिल्लाकै फैसला सदर हुने ठहर गरेको थियो।
पतिलाई मार्नुपर्ने कुनै रिसिइबी नदेखिएको, पूर्वयोजना नदेखिए पनि ओइसराले नै हत्या गरेको उच्चले ठहर गरेको थियो। श्रीमान-श्रीमतीबीच झैझगडा भएको, हत्या भएको बेला मदिरा पिएको र रिसको आवेगमा नजिकै रहेको बन्चरो प्रहार गरेर हत्या गरेकोले सर्वश्वसहित जन्मकैदको फैसला गर्दा महँगो पर्न जाने भन्दै जिल्लाको फैसलाभन्दा ४ वर्ष कम ८ वर्ष कैद हुने फैसला उच्चले गरेको थियो।
उक्त फैसलाविरुद्ध पनि ओइसरा सर्वोच्च अदालत पुगेकी थिइन्। तर सर्वोच्च अदालतले भने दुई तहको अदालतले दोषी ठहर गर्दै गरेको फैसला उल्ट्याउँदै आइसोरालाई निर्दोष ठहर गर्दै जेलमुक्त हुने फैसला गरेको छ।
२०७९ असार २५ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले आइसोरालाई निर्दोष ठहर गर्दै जेलमुक्त गराएको हो।
दुई तहको अदालतबाट भएको फैसला उल्ट्याउँदै ओइसरालाई जेलमुक्त गराएको फैसलाको पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको छ। जहाँ उनलाई कसरी निर्दोष ठहर गरियो भन्ने खुलाइएको छ।
ओइसराको मानसिक अवस्था ठिक नरहेकाले उनलाई उन्मुक्ति दिइएको खुलाइएको छ। स्वास्थ्य रिपोर्ट अनुसार ओइसराको मानसिक स्वास्थ्य ठिक नभएको पाइएको थियो। श्रीमानको हत्यापछि पनि लाससँगै निदाउनु, कुनै होसमा नहुनु र स्वास्थ्य जाँचबाट समेत उनी मानसिक रोगी भएको प्रमाणित भएको थियो।
मुलुकी ऐन दण्ड सजाय महलको १ नम्बरमा ‘कानुन बमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नेपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतबात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन’ भनी उल्लेख गरिएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा १४ मा ‘कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसुर मानिने छैन’ भन्ने उल्लेख गरिएको छ।
यिनै आधारहरुलाई कारण बनाउँदै ओइसरालाई निर्दोष ठहर गर्दै जेलमुक्त गरिएको छ। सर्वोच्चको यो फैसलापछि केन्द्रीय कारागार सुन्धारामा रहेकी ओइसरा जेलमुक्त भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।