काठमाडौं– लुम्बिनी प्रदेशकी बिनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन्।
मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइए पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत हालेर अन्तर्घात गरेको उजुरी पछि राजीनामा दिएको बुझिएको छ।
यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो।
उजुरीपछि छानबिन गर्दा उनले कांग्रेसका उम्मेदवारलाई मत हालेको पाइएपछि राजीनामा दिन लगाएको बताइएको छ।गत पुस २८ गते केसीले बिनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन्।
नेकपा माओवादी केन्द्रका तर्फबाट बिनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए।
उनले भने, ‘मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन।’
मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले यही माघ ५ गते प्रदेश सभामा विश्वासको मत पाएका थिए। यस्तै मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।