काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति जनताको धारणा नकारात्मक बन्दै गएको बताएका छन्।
शुक्रबार राष्ट्रपतिको सवारीका बेला निस्किएका ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै नेता थापाले यस्तो बताएका हुन्।
उनले राष्ट्रपति एउटा व्यक्ति नभएर सम्मानित संस्था भएकाले त्यसको गरिमा जोगाउन अब विधि र प्रोटोकल बदल्नुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘राष्ट्रपति एउटा व्यक्ति होइन, संस्था हो। यो सम्मानित संस्थाप्रति नागरिकको नकारात्मक धारण बन्दै गएको छ। यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौं।’
एक विज्ञप्ति जारी गर्दै नेता थापाले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि–२०७७ लगायतका यस्ता विधि र प्रोटोकल बदल्न अनुरोध गरेका छन्।
उनले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने बनाउन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।