धनगढी- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनीयताको शपथसँगै कार्यभार सम्हालेका छन्। उनले पद तथा गोपनीयताको शपथ लिँदा दुई मन्त्री पनि नियुक्त गरेका छन्।
भौतिक पूर्वाधार मन्त्रीमा नेपाली कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नरेश शाही निुक्त भए। उनीहरूले पनि शुक्रबार भनै पदभार ग्रहण गरिसकेका छन्।
मुख्यमन्त्रीको कार्यभार सम्हालेका शाहले चार मन्त्रालय आफू मातहत राखेका छन्। प्रदेशमा सात वटा मन्त्रालय छन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको शाहले हाल आफैंसँग राखेका छन्।
सामाजिक विकास र आन्तरिक मामसला माओवादीलाई
संघको सत्तारुढ गठबन्धन दलमा रहेको नेकपा माओवादी केन्द्रलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री शाह नेतृत्वको सरकारले चार वटा मन्त्रालयमा मन्त्री नियुक्त गरेका छैनन्।
विश्वासको मत कायम गराउन मुख्यमन्त्री शाह नेतृत्वको दलले नेकपा माओवादी केन्द्रलाई केही मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागी गराउने आन्तरिक तयारी गरेको छ। सोही अनुसार छलफल पनि चलिरहेको छ।
प्रदेश सभाका एक सदस्य भन्छन्,‘माओवादी केन्द्रलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने छ।’उनका अनुसार यसबारेमा दलका नेतासँग आन्तरिक छलफल भइरहेको छ।
केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा एमाले लगायतका दलहरुको सत्ता समिकरण छ। यसकारण तत्काल प्रदेशमा माओवादी केन्द्र सरकारमा नजाने मनसायमा रहेको छ। ‘अहिले प्रदेश सरकारमा सामेल भइहाल्यो भने राष्ट्रिय राजनीतिमा असर पर्न सक्छ’, ती प्रदेश सभा सदस्य भन्छन्,‘राष्ट्रपति निर्वाचनसम्म सत्ता समिकरणमा असर देखिएमा त्यसको प्रभाव प्रदेशमा पनि देखिन सकिन्छ।’
मुख्यमन्त्री शाहको नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी भइसकेको छ। शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीलाई पनि समर्थन गर्न आग्रह गरेका छन्। मुख्यमन्त्री शाहले यो सरकारलाई निरन्तरता दिन सबै दलहरुलाई सहभागी गराउन खुला बहस तथा छलफल गर्ने बताए। उनले भने,‘यो सरकारलाई स्थिर बनाउन आवश्यक देखिएकोले प्रदेश सभामा रहेका दलहरुलाई सहभागी हुन आह्वान गर्ने छु।’
५३ सदस्यीय रहेको प्रदेशमा मुख्यमन्त्री शाहलाई विश्वासको मत जुटाउन २७ प्रदेश सभा सदस्यको आवश्यकता रहने छ। अहिलेको सत्ता समिकरणमा उनीसँग २३ मत मात्र रहेको छ। उनले विश्वासको मत कायम गराउन थप चार प्रदेश सभा सदस्यको आवश्यकता रहने छ।
छिट्टै विश्वासको मत लिने प्रतिक्रिया दिँदै आएका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी वा नेकपा माओवादी केन्द्रमध्ये कुनै एकको साथ पाएमा विश्वासको मत पाउन सहज हुने देखिन्छ। गत चुनावको बेला गठबन्धन गरेर अघि बढेको, एकअर्कालाई मत मागेको, मतदान गरेको हुनाले माओवादीले साथ दिने उनको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।