काठमाडौं- नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ।
महाधिवशेनका लागि केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी विश्वविद्यालय राष्ट्रिय कमिटी र प्रदेश सम्पर्क कमिटीमा प्रतिनिधि छनोट सकिएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन्। उनका अनुसार देशभरबाट एक हजार पाँच सय ७९ प्रतिनिधि सहभागी हुने भएका छन्। उपत्यकामा रहेका प्रतिनिधिको व्यवस्था आफैं र उपत्यकाबाहिर भएका प्रतिनिधिको व्यवस्थापन होटलमा गरिएको छ।
आगामी फागुन २ गतेदेखि ४ गतेसम्म महाधिवेशन ‘निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित काठमाडौंमा हुनेछ। महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
अनेरास्ववियुको यसअघि २०७२ सालमा २२औँ राष्ट्रिय अधिवेशन भएको थियो। नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि अखिलको अधिवेशन हुन सकेको थिएन। महाधिवेशन सम्पन्न गर्नका लागि अखिलका अध्यक्ष बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।
महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५/१५ सदस्यीय कमिटी गठन गर्नेछ। यस्तै, एमालेको महाधिवेशन हुन बाँकी रहेका अन्य जनवर्गीय संगठनको पनि मिति तोकिएको छ।
एमालेका अनेरास्ववियुसहित राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, पेशागत महासंघ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, नेपाल खेलकुद महासंघ र रिटर्नी फेडरेसन गरी आठ जनवर्गीय संगठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।