काठमाडौं- विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छन्।
शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीका पूर्वअध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजेपनि आफू लगायतका नेताहरुले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताइन्। उनले विवेकशील साझा पार्टीका नेताहरु अधिकांश दलहरुमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेता उत्पादन गरिरहेको उल्लेख गरिन्।
बास्कोटाले पार्टीमा पूर्वअध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रवीन्द्र मिश्रका लागि गतिलो झापड भएको टिप्पणी गरिन्। महाधिवेशनबाट उठेर आफ्नो पार्टीले वैकल्पिक साझा राजनीतिक मूल्य स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने उनको भनाइ छ।
‘यो मेरो ६ महिनाको सर्ट टम गोल हो। किनभने पार्टी नै सक्याएर राप्रपाकरण गर्न खोजिएको थियो। तर पार्टीको अस्तित्व छ भनेर निर्वाचन आयोगमा हामी दर्ता भएर हामी चुनावमा गयौँ। हामी २ लाख १२ हजार मतलाई झारेर तल ल्यायौँ होला तर विवेकशील साझा तराजु चुनाव चिह्नमा चुनावमा खडा भयो। विवेकशील साझाका नेताहरु कांग्रेस, कम्युनिस्ट, रास्वपा, राप्रपा सबै दलमा हुनुहुन्छ। यो भनेको विवेकशील साझा विद्यार्थी उत्पादन गर्ने जस्तै नेताहरु उत्पादन गर्ने फ्याक्ट्री रहेछ’, उनले भनिन्।
अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैंले बनाउने उद्घोष गर्दै कुनैपनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने टिप्पणी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।