काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा प्रकाशशरण महतले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको टिप्पणी गरेका छन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनमा सबैको इच्छापत्र जस्तो कुरा आएको बताए। सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उनको भनाइ छ।
‘यो नीति कार्यक्रम जसरी आएको छ। राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था त छ। त्यसमा केही फरक परेन। तर, विषयवस्तुहरु समेटिएको छ। सबको इच्छापत्र जस्तो कुराहरु आएका छन्। सामान्यतया यस्ता विषयहरु नीति कार्यक्रम प्रस्तुत गर्दाखेरी आउँछ’, महतले भने, ‘यो अहिले नै आएको छ। त्यसमा धेरै अरु टिप्पणी गर्नुपर्ने कुराहरु छैन। हाम्रो सरकारको समस्या भनेकै कार्यान्वयनको समस्या हो। जतिसुकै विषयहरु उठान गरेपनि जति पटक दोहोर्याएपनि मुल कुरो कार्यान्वयनमा हामी कति गम्भीर छौँ? सरकार कति गम्भीर छ? कसरी कर्तव्यनिष्ठताका साथ काम गर्छ त्यसमा सबैकुरो निर्भर गर्छ।’
यता, नेकपा (एमाले) का सचिव तथा सांसद योगेशकुमार भट्टराईले राष्ट्रपति भण्डारीले संसद्मा गरेको सम्बोधनमार्फत अर्थतन्त्रलाई माथि उकास्नुपर्ने कुरामा जोड दिनुभएको बताएका छन्।
शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले राष्ट्रपतिले प्रतिकूलतामा रहेको अर्थतन्त्रलाई अनुकूलतामा बदल्ने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएको बताए।
सम्बोधनको क्रममा राष्ट्रपतिले राष्ट्रिय उत्पादन, आयात प्रतिस्थापन र वैदेशिक व्यापार घाटा सन्तुलन लगायतका विषयमा जोड दिएको भट्टराईले बताए।
राष्ट्रपतिले सम्बोधन गरेका विषयवस्तुलाई सरकारले आगामी नीति तथा कार्यक्रम बनाउँदा मार्गदर्शनको रुपमा लिनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।