काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरूलाई कानुन नलागेको टिप्पणी गरेका छन्। शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा कानुन लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरू सबै जेलमा हुने टिप्पणी गरे।
उनले नेपालको कानुले नेताहरूसमक्ष आत्मसमर्पण गरेको बताए। उनले आफूहरू लडेर ल्याएको प्रणालीमा सबै फूलहरू फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरूले देशका लागि काम गर्न आवश्यक रहेको बताए।
‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ। यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्यौं। तर, नेपालमा कानुनले काम गरेको भए हामीले मानेका धेरै नेताहरू जेलमा हुन्थे’, भण्डारीले भने, ‘नेपालमा कानुनले काम नै गरेन। आत्मसमर्पण गरे। यो एउटा पक्ष छ। हामीले ल्याएको प्रणालीमा सबै फूलहरू फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ।’
सांसद भण्डारीले युवा नेताहरू पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे। उनले युवाहरूमा अहिले आफ्नो पार्टीमा भएको चुनौतिको समाधान गरी देश बनाउने सपना हुनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।