काठमाडौं– भारतका विदेश सचिव विनयमोहन क्वात्रा तीन दिने नेपाल भ्रमण गर्ने भएका छन्। उनका नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा २०७९ फागुन १ देखि ३ गतेसम्म उनले नेपालको औपचारिक भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो।
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको विदेश मन्त्रालयको दाबी छ। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने बताइएको छ।
‘भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको छ। यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ,’ भारतको विदेश मन्त्रालयले भनेको छ, ‘यो भ्रमणले हामीबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।