काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न नहुने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकीर गरे।
प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने पनि बताए।
जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावलीको व्यवस्था गर्ने कुरामा आफू सहमत हुनै नसक्ने उनको भनाइ छ। प्रमुख सचेतक शाहीले अदालतले दोषी प्रमाणित गरेपछि मात्रै सांसद पद निलम्बन हुने व्यवस्था गर्नु संविधान र कानुनको दृष्टिले पनि उपयुक्त हुने धारणा राखे।
‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन। यो गर्नै हुँदैन। पक्राउ गर्ने बित्तिकै, हिरासतमा राख्ने वित्तिकै यदि सबै अधिकार खोसिने हो भने जनताबाट जितको के महत्त्व भयो? सरकार पक्ष र बलियो पक्षले कुनै पनि बेला यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्छ’, शाहीले भने।
प्रमुख सचेतक शाहीले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधान विपरीत हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।