काठमाडौं- नारायणगढ-मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि बिस्फोटका लागि तयारी थालिएको छ। पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ।
तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ। सो चट्टान काट्न कठिन भएपछि बिस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए।


“तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ”, उनले भने। दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ। दायाँतर्फ ६० मिटर अग्लो चट्टानको थियो। काटेर २५ मिटर तल झारिएको छ। बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले बिस्फोट गराउन अनुमति मागेको आचार्यले बताए।
आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालयमा फाइल पुगेको छ। त्यहाँबाट स्वीकृत भएपछि बिस्फोटक पदार्थ खरिदका लागि प्रक्रिया अघि बढाइने छ। रातको समयमा काम गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। जटिल ठाउँमा भएकाले घटना हुनसक्ने भन्दै रातको समयमा काम गर्ने आँट ठेकेदार कम्पनीले गरेको छैन।
यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको देब्रेपट्टिको भित्तो काट्ने काम ८० प्रतिशत सकिएको छ। अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान छ। दायाँपट्टिको भित्तो काट्ने काम सकिएको छ। पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनको लागि दिउँसोमा सवारी रोकेर काम भइरहेको छ। दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ। यही गतिमा काम भएमा थप दुई महिना सवारी रोक्नुपर्ने देखिएपछि बिस्फोटको विकल्प खोजिएको हो।
डाँडो तल झरेकाले विस्फोट गर्दा कम क्षति हुने जनाइएको छ। सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका ९ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्। यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए। पाँच वटा पुल निर्माणाधीन रहेका छन्। सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो। पहिलेको पुलको छेउमा अर्काो पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।