काठमाडौं– सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बिहीबार नै बस्ने भनेर अन्तिम समयमा स्थगित भएको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ।
बैठकमा राष्ट्रपतिको निर्वाचन, सत्ता साझेदार दलहरुबीचमा देखिएको समस्या लगायतबारे छलफल हुने जनाइएको छ।
यसअघि बिहीबार नै दिउँसो ३ बजे संयन्त्रको बैठक बस्ने भनिएको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि शुक्रबार सम्मलाई बैठक सरेको थियो।
बिहीबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे बैठक बस्ने बताएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलोपटक संयन्त्रको बैठक बस्न लागेको हो। नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका सभापति रवि लामिछानेले पुन: नागरिकता प्राप्त गरी गैरसांसद मन्त्रीको गृह मन्त्रालयको नेतृत्व गर्न खोजे पनि गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो।
बैठकको प्रमुख अजेन्डा भने फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको विषय भएको बताइएको छ। प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रका नेताहरुले राष्ट्रपतिका सन्दर्भमा राष्ट्रिय सहमति बन्नुपर्ने बताउँदै आएका छन्।
ओली र एमालेका नेताहरुले भने प्रचण्डको नेतृत्वमा सरकार गठनका बेलाको जस्तै राष्ट्रपति आफ्नो पार्टीले अघि सारेको उम्मेदवार हुनुपर्ने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।