काठमाडौं– उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच बिहीबारमन्त्रालयमा भेटवार्ता भएको छ।
भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता दिई काम गरिरहेको उल्लेख गर्दै हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा समेत निजी लगानीकर्ता र सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिए।
छिमेकी राष्ट्रलाई विद्युत् निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उनले बङ्गलादेशसँगको सम्झौता प्रक्रियामा रहेको नेपालले ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गर्न लागेको बताए। उपप्रधानमन्त्री लिङ्देनले आवश्यक ट्रान्समिसनको व्यवस्थासहित समानान्तररूपमा अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी अन्य छिमेकी मुलुकसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गरिने स्पष्ट गरे।
नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाललाई प्राप्त सहयोगका लागि युरोपेली युनियनललाई धन्यवाद दिँदै उनले भविष्यमा पनि ऊर्जा क्षेत्रमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।