काठमाडौं– सत्ता गठबन्धनका तर्फबाट सुदूपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन सकेनन्। बिहीबार प्रदेश सभामा विश्वासको मतका लागि पेस भएको प्रस्ताव ध्वनिमतले अस्वीकृत भयो।
पुस २७ गते मुख्यमन्त्रीको रुपमा एमालेका रावलले सपथ लिएका थिए। तत्कालीन समयमा उनलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, र राप्रपाले सर्मथन गरेको थियो। मुख्यमन्त्रीमा नियुक्त हुँदा रावलको पक्षमा २९ मत देखिएको थियो। २७ मत आवश्यक हुँदा माओवादी केन्द्रका उम्मेदवार सभामुख बनेपछि एक मत घटेको थियो। तर सरकारलाई सर्मथन गरेको उन्मुुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि एमालेको सरकार ढलेको हो।


नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले अन्तिम दिन अबेर विश्वासको मतको प्रक्रिया थालेका थिए। बिहान ११ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।
उक्त प्रदेशमा एमाले १०, माओवादी ११, राप्रपा १, उन्मुक्ति पार्टी ७ कांग्रेस १९, एकीकृत समाजवादी ४ र स्वतन्त्रको १ सिट रहेको छ। कांग्रेस पहिलो दल भएकाले मुख्यमन्त्रीले राजीनामा दिएलगत्तै अर्का मुख्यमन्त्रीको नियुक्ति पाएका छन्। ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा त्यो प्रदेश सभामा हात उठाएर गणना गर्न नदेखिएपछि सभामुखले उक्त प्रस्ताव अस्वीकृत गरेका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत कायम नगरेपछि प्रदेशमा ठूलो दल रहेको दलका नेताले मुख्यमन्त्रीमा दाबी गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न पाएका हुन्। संविधानको धारा १६८ उपधारा ३ अनुसार उनी स्वतः पहिलो दलको रुपमा मुख्यमन्त्री नियुक्त भइसकेका छन्।
‘प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उक्त धारामा उल्लेख छ। संविधानको यही व्यवस्था अनुसार अब कांग्रेसको पोल्टामा मुख्यमन्त्री आइपुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।