काठमाडौं– नेकपा एमालेले कुनैपनि मूल्यमा वर्तमान सत्ता गठबन्धन टिकाएर लैजाने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भिन्न–भिन्न दलको गठबन्धन रहेकाले असमझदारी उत्पन्न हुनु स्वभाविक रहेको बताउँदै समझदारी बनाउने प्रयास जारी रहेको बताए। गठबन्धन जोगाउने एमालेको संकल्प रहेको समेत उनले जानकारी दिए।
‘यस्तो गठबन्धन टिकाइराख्न विश्वासको वातावरण बनाइराख्नु पर्छ। हिजो गरिएकका प्रतिबद्धतालाई कायम राख्नुपर्छ। यस विषयमा थप छलफल भोलि (शुक्रबार) बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा हुनेछ,’ उनले भने।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने वातावरण बन्नु दु:खद भएको समेत उनले बताए।
‘नागरिकता पुन: प्राप्तिका त्रुटिका कारणले गृहमन्त्री पद रिक्त भयो। हामीले पुस १० गते नयाँ कोर्स बनाइरहँदा जुन शक्ति बाँडफाँट गरेका थियौं, त्योअनुसार गृह मन्त्रालय उहाँहरु (रास्वपा)लाई दिइएको थियो। व्यक्ति को हुने उहाँहरुको कुरा थियो। तर, गृह मन्त्रालय दिएर सरकारमा होल्ड गरिरहनुपर्थ्यो। त्यसमा असमझदारी देखियो।’
एमालेका तर्फबाट रास्वपालाई विश्वासमा राख्ने र सरकारमा फर्काउने कोसिस जारी रहेको उनले बताए। बाहिर रहेका जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।