काठमाडौं– मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु उपस्थित छैनन्। सो पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। सो पार्टीले रेशम चौधरी सहितका नेताहरुको रिहाइलाई सर्तको रुपमा राखेको छ।
नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ। प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी केवल २१ मत छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो। ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ।
पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन देखिन्थ्यो।
यसबीचमा उनले नागरिक उन्मुक्ति पार्टीबाट पनि विश्वासको मत पाउन प्रयत्न गरेका थिए। काठमाडौं आएर समेत छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।