काठमाडौं– विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाअधिवेसन माघ २७ शुक्रबारदेखि काठमाडौंमा गर्दैछ। महाधिवेशनको सम्पूर्ण तयारी सकिएको र नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया सुरु भएको पार्टीले जनाएको छ।
विभिन्न आरोह अबरोहबाट गुज्रिएर पार्टीले आफ्नो पहिलो महाधिवेसन आयोजना गर्न लागेको हो। यो महाधिवेसनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ। पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन’का नाममा राजतन्त्रको समर्थन र धर्म निरपेक्ष र संघीयता खारेजीको अजेन्डा भएको दस्तावेज ल्याएपछि बिबादको भुमरीमा परेको विवेकशील साझा अहिले उनको वहिर्गमनसँगै गति लिने आशामा महाधिवेसन गर्न गहिरहेको नेताहरु बताउँछन्।
विवेकशील साझाको पहिलो महाधिवेसनको उद्घाटन सत्रमा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, स्वतन्त्र पार्टीका सभापती रवी लामिछाने, कांग्रेस महामन्त्री बिस्वप्रकास शर्मा, चिन्तक तथा एकीकृत समाजबादिका नेता घनश्याम भुसाल, नेकपा माओबादी केन्द्रकी नेता पम्फा भुसाल र विवेकशील साझाका पुर्व नेता गोबिन्द नारायण लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महाधिवेसन २ दिनसम्म काठमाडौंमा संचालन हुनेछ।
महाधिवेशन सहमतिमा सम्पन्न गर्ने र यसपछि पार्टीलाई अनुभव र उर्जासहितको प्रमुख पार्टीको रुपमा स्थापित गराउने नेताहरुको दाबी छ। महाधिवेसन आयोजक समिति संयोजक समीक्षा बास्कोटाले यो महाधिवेशनले पार्टी जीवनमा महत्त्वपूर्ण योगदान गर्ने र आफूहरुको अगुवाइमा सुरु वैकल्पिक अभियान अब नयाँ चरणमा पुग्ने बताइन्। यस्तै पार्टीका नेता मिलन पाण्डेले पार्टीको पहिलो महाधिवेसनले विवेकशील साझालाई गम्भीर र अनुभवसहितको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने बताए। ‘बीचमा जुन बाटो बिराइएको थियो त्यसलाई चिरेपछि वैचारिक स्पष्टतासहित हामी नयाँ ठाउँमा पुगेका छौँ,’ उनले भने।
पार्टी नेता रन्जु दर्शनाले विवेकशील साझा पार्टी विवेकशील अभियानको रुपमा जन्मिएकोले यसले उठाइरहेका नवीन राजनीतिका मुद्दाहरु सडकबाटै उठाउने र त्यसको लागि सक्षम शक्ति बनाउने बताइन्। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका नेता केशब दाहालले वैकल्पिक राजनीतिको स्पेस फराकिलो बनेकोले त्यस बाटोमा विवेकशील साझा पार्टीले आफूलाई एउटा गम्भीर राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने बताए।
पार्टीका नेता तथा पूर्व प्रदेश संसदीय दलका नेता रमेश पौडेलले यो महाधिवेसनले विगतमा विवेकशील साझा पार्टीले विचार र कार्यशैलीमा भोगेका अप्ठ्याराहरुलाई चिर्दै थप ससक्त र क्रेडिबल राजनीतिक शक्तिको रुपमा विकास गर्ने बताए। पार्टीका नेता प्रकाश चन्द्र परियारले विवेकशील साझा पार्टीलाई गणतान्त्रिक, संघीयता र धर्मनिरपेक्षतालाई थप सुन्दर तथा ससक्त बनाउँदै आगामी दशकको उथलपुथलालाई सम्बोधन गर्न सक्ने राजनीतिक शक्तिको रुपमा विकास गर्न लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।