काठमाडौं– प्रतिनिधि सभा तथा संसदीय समितिहरुको बैठकमा सांसदहरुको उपस्थितिलाई नियमित गराउनुपर्नेमा जोड दिइएको छ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा संसद् बैठकमा अनुपस्थितिको सूचनासम्बन्धी व्यवस्थामा धारणा राख्ने अधिकांश सांसदले बैठकमा सांसदहरुको उपस्थितिलाई प्रभावकारी बनाउन दैनिक हाजिरी प्रकाशित गर्ने सम्मको व्यवस्था नियमावलीमा नै राख्नुपर्नेमा जोड दिएका हुन्।
सांसदहरू हाजिर गरेर हिँड्ने र विधेयक पास गर्ने बेला कोरम नपुगेर कार्यसूची नै अघि बढाउन नसक्ने विगतको समस्या समाधान हुनेगरी सांसदहरूको उपस्थितिलाई प्रभावकारी बनाउनुपर्नेमा समिति सदस्यहरुले जोड दिएका हुन्। मस्यौदा समिति सदस्य सुवासचन्द्र नेम्वाङले सांसदहरुको उपस्थिति प्रत्येक बैठकमा हुनुपर्ने र प्रत्येक दिन संसद् बैठकमा उपस्थित हुन् भन्ने जनताको चाहना पनि रहेको उल्लेख गर्दै यसतर्फ सांसदहरु स्वयं पनि गम्भीर हुनुपर्ने धारणा राखे।
समिति सदस्य अमरेशकुमार सिंहले संसदलाई व्यवस्थित बनाउनका लागि सांसदहरुको प्रत्येक दिनको हाजिरी स्क्रिनमा देखिने गरी व्यवस्था गर्नुपर्ने बताए।
त्यसैगरी, समिति सदस्य शक्ति बस्नेतले एक दिनको अनुपस्थितिलाई भुलचुक मानेर दोस्रो दिनदेखिको अनुपस्थितिलाई सूचना दिने व्यवस्था गर्दा व्यवहारिक हुनसक्ने तर्क गरे।
सदस्य प्रेम सुवालले बैठकमा अनुपस्थित हुँदा अग्रिम सूचना दिने व्यवस्थाले सांसदहरु गयल नहुने भएकाले सो व्यवस्था ठिीक भएको भन्दै समर्थन गरे। उनलेले शीर्ष नेताहरु बैठकमा धेरै गयल हुने गरेकोतर्फ पनि ध्यानाकर्षण गराए।
प्रतिनिधि सभा नियमावली मस्यौदा समिति सदस्य नागिना यादवले भने सांसदहरुको अनुपस्थितिको सूचना प्रतिनिधि सभा बैठकमा पेस गर्न नहुने धारणा राखिन्।
यस्तैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेका बेला बैठकमा सांसद अनुपस्थितिको जानकारी दिँदा सांसदहरुलाई नै ‘व्याकफायर’ हुनसक्ने भन्दै गोप्य राख्नुपर्ने प्रश्ताव गरिन्।
समिति सदस्य विद्या भट्टराईले सांसदहरुको हाजिरीको विषय सुविधासँग जोडिएर आउने भएकाले त्यस्तो हुन नदिन अनुपस्थितिको कारण सार्वजनिक गर्नुपर्ने प्रश्ताव राखिन्।
सर्वेन्द्रनाथ शुक्लाले सांसदको उपस्थितिको कुरालाई नियमावलीमा जति कडाइका साथ लेखे पनि कार्यान्वयन हुन नसकेको बताए।
बैठकमा बोल्ने अन्य समिति सदस्यहरुले पनि सांसदहरुको हाजिरीलाई व्यवहारिक, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।