काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले संघीय संसद् भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उनले सो प्रस्ताव राख्नु भएको हो। संसद् भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेस्र्याए जसरी क्यामेरा तेस्र्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो। उनले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद् सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराए।
‘त्यो गेटभन्दा बाहिर एकदम त्यो क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेस्र्याएर बसेको जस्तो लाग्ने। उहाँहरु बिचरा त्यो लिएर कुँदिरहनु पर्ने। अलि कस्तोकस्तो लाग्दो रहेछ त्यो। त्यसकारण यत्रो त गरिरहेका छौँ हामीले,’ उनले भने, ‘प्रेस मिट रुम एउटा भव्य बनाउन। जहाँ केही प¥यो माननीय सदस्यहरु पनि जानु हुन्छ। दलका नेताहरु पनि जानु हुन्छ। पत्रकार साथीहरु पनि त्यहाँ बस्नु हुन्छ। प्रवक्तालाई पनि सजिलो। त्यहाँ जानु हुन्छ। त्यसकारण यो नियमावलीको महत्वपूर्ण पार्ट हुन्छ। एउटा नियम राखेर यो भव्य व्यवस्था गरौं भन्ने आग्रह छ।’
पत्रकारहरुले संसद्को मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि उपाध्यक्ष नेम्वाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।