काठमाडौं– मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने घटेको छ। बुधबार नेप्से परिसूचक ७.१६ अङ्कले घटेर दुई हजार १७०.१८ अङ्कमा कायम भएको हो।
बुधबार २५७ वटा कम्पनीको १ करोड ५ लाख २ हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार बराबरको कारोबार भएको छ।
बुधबार अन्य समूहको उपसूचक सात दशमलव ७५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८.६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९.७१ अङ्कले घटेको नेप्सेले जनाएको छ।
बैंकिङ समूह ०.७९, विकास बैंक समूह २२.६२, वित्त समूह ३६.२५, जलविद्युत् समूह २७.३६ र लगानी समूह ०.१० अङ्कले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ४१.९०, लघुवित्त समूह १६.५७, म्युचुअल फन्ड समूह ०.०७, निर्जीवन बीमा समूह २८.५४ र व्यापार समूह ११.५० अङ्कले घटेको छ।
बुधबार सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव १४ प्रतिशतका दरले गुमाएका छन्।
त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रु ११ करोड २८ लाख ६८ हजार २७१ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपी पावर कम्पनी लिमिटेडको तीन लाख ४० हजार पाँच सय ६६ कित्ता शेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।