काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गरेका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको पनि दाबी गरे।
उनले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको टिप्पणी गरे। महासचिव चन्दले नवउदारवादी नीतिका कारण नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पूँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताए।
उनले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरु आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको, आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताए।
उनले थोरै मानिसहरुले अर्थतन्त्र अधिनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको उल्लेख गरे। चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवाद भित्र लैजानका लागि रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे।
महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिनेगरी अघि बढ्ने बताए। उनले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।