काठमाडौं- राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन्। बुधबार उनले आफू आबद्ध रहेको दल नेकपा (माओवादी केन्द्र)को पार्टी सदस्यता तथा सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।
अर्याल माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी छिन्। उपाध्यक्षका लागि अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी थिइन्। उनी सत्ता गठबन्धनबाट उम्मेदवार रहेको भए पनि कांग्रेस लगायतका दलले पनि उम्मेदवारी नदिई अर्याललाई नै सघाउने निर्णय लिएका थिए।
अर्यालले मंगलबार राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएकी थिइन्। लगत्तै सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी उनले संघीय संसद्मा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी थिइन्।
अर्याल गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशबाट महिला समूहबाट निर्वाचित भएकी हुन्। त्यस प्रदेशमा सो समूहबाट २०७४ मा शशिकला दाहाल निर्वाचित भएकी थिइन्। राष्ट्रिय सभाको उपाध्यक्ष समेत भएकी दाहालको पदावधि सकिएपछि रिक्त स्थानका लागि भएकी निर्वाचनमा विजयी भएकी अर्याल पनि उपाध्यक्ष बनेकी हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।