भक्तपुर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म–संस्कृतिलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएकाले अब सबै जागेर परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा थापाले योजनाबद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गरिएको भन्दै आक्रोश पोखे।
‘किरात धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरु अल्पमतमा पर्नेछन्, यो सामान्य विषय होइन,’ उनले भने, ‘यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरवशाली संस्कृति र पहिचान नष्ट हुने सम्भावना छ।’
थापाले चुप लागेर बसेमा हामी दिनप्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने आवश्यकतामा जोड दिए। ‘हाम्रो कुनै धर्मप्रति बैमनश्यता, घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनप्रति हाम्रो आपत्ति छ,’ उनले भने।
अहिले कमजोर रुपमा ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनायरै छाड्ने थापाको दृढता थियो। कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ , राजाराम बर्तौला, बागमती प्रदेश अध्यक्ष माधव खत्री ,भक्तपुर जिल्ला अध्यक्ष श्यामप्रसाद नेपाल लगायतले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए।
पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानअन्तर्गत भक्तपुरको ३८ वडामा फागुन महिनाभित्र पार्टीका वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।