नेत्र विक्रम चन्द (विप्लव), फाइल तस्बिर
काठमाडौं– नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनता र जनताको राजनीतिक, आर्थिक लगायत जनजीविकाका सवालमा ‘संघर्ष’ गर्ने घोषणा गरेको छ।
मंगलबार नवौं केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले उक्त जानकारी दिएका हुन्। नेकपा महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले ६ महिने पार्टी योजनालाई कडाइका साथ लागू गर्ने जनाएको छ।
सत्तासिन दलहरु र विदेशीहरुलेक संघ र प्रदेशको निर्वाचनमा लगानी गरेर निर्वाचन सम्पन्न गरेको भए पनि कुनै पनि दलहरुले बहुमत ल्याउन नसेकेको नेकपाको टिप्पणी छ। नेकपाले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी राजनीतिक दलको विकल्प नभइ पुराना दलहरुप्रति बढेको वितृष्णाको उपज भएको विश्लेषण गरेको छ।
वैज्ञानिक समाजवादी व्यवस्थाको नारालाई अघि बढाउनुका साथै पुँजीवादको अन्त्य गर्नुपर्नेमा पार्टीले जोड दिएको प्रवक्ता प्रकाण्डले जानकारी दिए। त्यस्तै पार्टीले जनआधारित पार्टी र जनआधारित नीति लिएको उनले उल्लेख गरे।
पार्टीले एनसेल, एमसीसी, एसपीपी विरुद्धको संघर्ष जारी राख्ने प्रकाण्डको भनाइ छ। राज्यले मिटरब्याजलाई अपराध घोषणा गर्नु पर्नेमा जोड दिँदै लघुवित्तविरुद्ध विरोध प्रदर्शन गर्ने पनि नेकपाले जनाएको छ।
साथै सरकारसँग भएको ३ बुँदे सहमति अक्षरस पालना हुनुपर्ने बताउँदै विप्लव नेतृत्वको नेकपाले सहमतिअनुसार राज्यले बन्दीहरुलाई रिहा गर्नु पर्ने र मुद्धा खारेज गर्नुपर्ने माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।