काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यावहारिक बनाउन आवश्यक रहेको बताएका छन्।
महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरुलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्नेगरी दिन आवश्यक रहेको बताएका हुन्।
ढकालले सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सीमित भएको गुनासो गरे। उनले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिनसक्ने शिक्षा दिनेगरी परिमार्जन गर्न आवश्यक रहेको बताए।
उनले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताए। उनले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यही अनुसार तालिम दिन सुझाव दिए।
‘सरकारले यस्तो कार्यक्रममा खर्च गर्दा रिजल्ट आउने किसिमले खर्च गर्नुपर्छ। निजी क्षेत्रले कुनै क्षेत्रमा खर्च गर्ने भनेपछि त्यसको लागि समय र खर्च त्यसको लागि नै गर्ने गरेको छ। त्यही अनुसार सरकारले पनि काम गर्न सक्नुपर्छ’, ढकालले भने, ‘नवउद्यमी विकास गर्नका लागि काम गर्ने संस्थाहरुको समन्वयन आवश्यक रहेको छ। उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु रहेका छन्। यो सम्बन्धित सरोकारवाला निकायहरु समन्वय गरेर जसले तालिम लिएर उद्यम खोल्नसक्ने बनाउनु पर्छ।’
ढकालले उद्यमशील विकासका लागि काम गर्ने संस्थाहरुबीच समन्वय आवश्यक रहेको बताए। उनले उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु भएपनि सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्नसक्ने बनाउन आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।