काठमाडौं– नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँसहित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना अमेरिकी, १ जना भारतीय र १ जना नेपाली नागरिक छन्।
भारतीय नागरिक ४३ वर्षीय बसारुद्दिन अन्सारी र सुनसरीको इनरुवा नगरपालिका–३ घर भएका २९ वर्षीय मधुकर सेठ साहलाई प्रहरीले ५०० दरको ४४० थान नोट गरी २ लाख २० हजार भारुसहित पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित क्यान्टिन नजिकै उनीहरूले उक्त भारतीय रूपैयाँ लेनदेन गरी कारोबार गरिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।
यस्तै, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५०० दरको ४५६ थान गरी जम्मा २ लाख २८ हजारसहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुक पनि पक्राउ परेका छन्। प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
काठमाडौंबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको हाते झोलाभित्र उक्त भारतीय रुपैयाँ फेला परेको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।