काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन्।
मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौती देखिएको बताएका हुन्। उनले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गरे।
अर्थतन्त्रमा धेरैखाले स्पिड ब्रेकरहरु आएको भन्दै भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको गोल्छाको भनाइ छ। अध्यक्ष गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको लिमिट भन्दा बढी तीब्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए।
अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको उनको टिप्पणी छ। उनले बैंकरहरु अर्थतन्त्रमा समस्या आउनु भन्दा पहिला नै हामफाल्न सफल हुँदा बैंकहरु ठूलो दुर्घटनामा नपरेको दाबी गरे।
अध्यक्ष गोल्छाले नेपालको जीडीपीभन्दा धेरै ऋण प्रवाह भएपनि वित्तीय क्षेत्रमा जोखिम नरहेको बताए। उनले नेपालको वित्तीय क्षेत्रले अर्थतन्त्रको आकारभन्दा बढी ऋण प्रवाह गरेपनि उत्पादनमुलक क्षेत्रमा लगानी नभएको संकेत गरे।
उनले बैंकको धेरै कर्जा व्यापारिक प्रयोजनमा गएको भन्दै ऋण पनि धितोमा आधारित भएकाले जोखिम नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।