काठमाडौं– अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघका आयुक्त जुट्टा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेकी छन्।
भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली संघका विभिन्न कार्यहरुको आरम्भ गर्ने बताइएको छ। उनले बुधबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।
नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि भ्रमणमा आएकी यहाँस्थित युरोपेली संघको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ।
युरोपेली संघले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिंक बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ। संघले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकांक र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ।
आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसंख्यान्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउनेछन्।
आयुक्त उर्पिलाइनेनले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्नाका साथै शिक्षामन्त्रीसँग नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो सहयोगको शुभारम्भ गर्नेछन्।
यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।