दाङ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको कारण दाङको जनजीवन ठप्प भएको छ। बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन समेत पूर्ण रुपमा बन्द रहेका छन्। बन्दका कारण सवारी आवागमन ठप्प हुँदा लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन्।
यसका साथै भालुवाङ, लमही, घोराही, तुलसीपुर पश्चिम दाङका बजारहरु समेत पूर्ण रुपमा बन्द छन्।
जिल्लाका विद्यालय, कलकारखाना तथा व्यापारव्यवसायमा समेत प्रभाव परेको छ। जिल्लामा शान्ति सुव्यवस्था कायम राख्नका लागि भन्दै राजमार्ग तथा अन्य क्षेत्रमा पनि ठूलो संख्यामा सुरक्षाफौज तैनाथ गरिएको छ।
बन्दको पूर्वसन्ध्यामा पार्टीले गएराति दाङका विभिन्न स्थानमा मसाल जुलुश प्रर्दशन गरेको जिल्ला इन्चार्ज विक्रमले जानकारी दिएका छन्। जिल्लास्थित घोराहीको ट्राफिक चोक, लमही, भालुवाङ, नारायणपुर, विजौरी, तुलसीपुर र शान्तिनगरको धनौरीमा मसाल जुलुश प्रदर्शन गरेको उनले बताए।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ गरेको विरोधमा पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।