काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिएको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरीय बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयले बनाएको कार्ययोजनालाई एकीकृत रुप दिएको हो।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरुलाई कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका थिए।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन बमोजिम सबै मन्त्रालयहरुले आफ्नो आफ्नो कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत रुप दिएको जानकारी दिइन्।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत बताइन्।
उनले एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरु रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको बताइन्।
मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।