काठमाडौं– स्वास्थ्य मन्त्रालयले काठमाडौं नेसनल मेडिकल कलेजको शिक्षण अस्पताल बन्द गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने भएको छ।
मन्त्रालयले गठन गरेको अनुगमन समितिले स्वीकृति नलिई अस्पताल सञ्चालनमा रहेको र पूर्वाधार समेत पूरा नभएको पाएपछि बन्द गर्न सुझाव दिएको छ। अनुगमन समितिले अस्पतालको स्थलगत अध्ययनपछि शनिबार स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ।
प्रतिवेदनमा काठमाडौं नेसनल अस्पताल मन्त्रालयबाट सञ्चालन स्वीकृति नलिई चलिरहेकाले नियमअनुसार अस्पतालको सेवा बन्द गर्न सुझाव दिइएको छ।
‘घट्टेकुलोमा रहेको काठमाडौं नेसनलको शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयबाट सञ्चालन स्विकृति लिएको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘यसरी सञ्चालन स्वीकृति नलिई चलेका अस्पताललाई गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयको सहयोगमा बन्द गर्न सकिने व्यवस्था रहेकाले काठमाडौं नेसनलको सेवा सञ्चालन बन्द गर्न गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्नुपर्ने देखिन्छ।’
प्रतिवेदनमा काठमाडौं नेसनल अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थपना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ (दोस्रो संशोधन) विपरीत सञ्चालनमा रहेकाले तत्कालै अस्पतालको सेवा बन्द गर्नुपर्ने उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयले साउन १३ गते काठमाडौं नेसनललाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको थियो। सुनसान अस्पताल रहेको र स्वीकृति नै नलिई अस्पताल चलाएको काठमाडौं नेसनललाई सम्बन्धन दिएको भन्दै समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयले भदौ ६ गते ८ सदस्यीय समिति गठन गरेको थियो।
समितिमा डा दीपेन्द्ररमण सिंह, डा गुणराज लोहनी, डा भोलाराम श्रेष्ठ, औषधि व्यवस्था विभागका निर्देशक नारायण ढकाल, जनस्वास्थ्य प्रयोगशालाकी डा रुना झा, वीर अस्पतालका रेडियोलोजिस्ट डा स्वयंप्रकाश पण्डित, नर्सिङका तर्फबाट कविता अर्याल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा सदस्य छन्।
समिति अस्पतालको स्थलगत निरीक्षणका क्रममा पूर्वाधार नपुगेको, सम्बन्धन पाएलगत्तै धमाधम सामान ल्याउन थालेको, बिरामी संख्या नै नभएको र अस्पतालका लागि भवन समेत अनुपयुक्त रहेको फेला पारेको छ । समितिले भवनका विषयमा भवन विभागको प्रतिवेदन समेत आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ (दोस्रो संसोधन)’ अनुसार घट्टेकुलोको २ रोपनी १० आना १ दाम जग्गामा बनेको उक्त अस्पतालमा बढीमा ४५ शय्याको अस्पताल मात्र चलाउन मिल्छ।
तर, यसका लागि पनि अस्पतालले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालयबाट भूकम्प प्रतिरोधी भवनको र वातावरण मन्त्रालयबाट वातवरणीय प्रभाव मूल्यांकन (इआइए) पास भएको प्रतिवेदन बुझाउनुपर्ने हुन्छ। काठमाडौं नेसनलले अहिलेसम्म यी दुवै प्रमाणपत्र नबुझाएका कारण अस्पताल सञ्चालनको स्वीकृति समेत पाएको छैन।
निर्देशिकाको दफा १६ मा रहेको अस्पतालको पूर्वाधारसम्बन्धी मापदण्ड अनुसार ३ सय शय्याको शिक्षण अस्पताल चलाउन प्रतिशय्या ५५ वर्गमिटर जग्गा अनिवार्य चाहिन्छ। यो आधारमा हेर्दा ३ सय शय्याका लागि १६ हजार ५ सय वर्गमिटर जग्गामा भवन बनाउनुपर्ने हुन्छ। अर्थात् ३२ दशमलव ४३ रोपनी जग्गामा अस्पताल भवन बनाउनुपर्ने हुन्छ।
काठमाडौं नेसनलको अस्पताल २ रोपनी १० आना १ दाम अर्थात् २ हजार ५ सय ८ दशमलव ३८ वर्गमिटरमा मात्र बनेको छ। प्रतिशय्या ५५ वर्गमिटरका आधारमा हेर्दा उक्त जग्गामा ४५ शय्यासम्मको अस्पताल मात्र बन्नेछ।
मापदण्ड अनुसार अस्पताल रहने स्थानमा पार्यप्त मात्रामा खुला जग्गा हुनुपर्छ। अस्पताल सञ्चालन हुने जग्गामा कुल जग्गाको ४० प्रतिशत भागमा मात्र भूकम्प प्रतिरोधी र भवन आचारसंहिता अनुसार भवन बनेको हुनुपर्छ। काठमाडौं नेसनलका हकमा यो कुरा पनि लागू हुँदैन। काठमाडौं नेसनलले दुई रोपनी १० आना १ दाम पैसामा खाली जग्गा नै नराखी अस्पताल निर्माण गरेको छ।
अस्पतालको सञ्चालन स्वीकृतिका लागि काठमाडौं नेसनलले स्वास्थ्य मन्त्रालयमा बुझाएको कागजपत्रमा पनि यो कुरा उल्लेख छ। मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठका अनुसार काठमाडौं नेसनलले बुझाएको कागजपत्रका आधारमा ३ सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति दिन सकिँदैन।
‘अहिलेसम्म उसले बुझाएको कागजपत्र हेर्दा शिक्षण अस्पताल सञ्चालनको स्वीकृति दिन सक्ने अवस्था नै छैन,’ उनले भने, ‘यही अवस्थामा हामी काठमाडौं नेसनललाई अस्पताल चलाउने स्वीकृति दिँदैनौँ।’
भवन अग्लो हुँदैमा शय्या थप्न मिल्दैन
मापदण्ड अनुसार थोरै जग्गामा अग्लो भवन बनाएका भरमा धेरै शय्याको अस्पताल सञ्चालन गर्न मिल्दैन। अस्पतालको भवन बाहेकको जग्गाबाट भवनको टुप्पोमा हेर्दा ६३ डिग्रीभन्दा बढी हुनुहुँदैन।
ठमाडौं नेसनलको भवन छेउमा बाँकी रहेको स्थानबाट भवनको टुप्पोतिर झन्डै ९० डिग्रीमा हेर्नुपर्ने हुन्छ। यसका साथै अस्पतालको कुल जग्गामा करिब २५ प्रतिशत पार्किङको व्यवस्था गरिएको हुनुपर्छ वा प्रति ३ शय्या एउटा कार अट्ने पार्किङ हुनुपर्छ। काठमाडौं नेसनल अस्पतालले यो मापदण्ड पनि पूरा गरेको छैन। अस्पतालमा भूमिगत पार्किङ त छ तर निकै थोरै।
यसका साथै अस्पताल परिसरमा बगैंचाको पनि व्यवस्था गर्नुपर्ने हुन्छ। तर, काठमाडौं नेसनल अस्पताल परिसरमा बगैंचाको नामोनिसान छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।