काठमाडौं– विसं २०५२ साल फागुन १ गते माओवादीले देशभर युद्धको घोषणा गर्यो। घोषणाको पहिलो दिनमै भूमिगत हुनेहरूको सूचीमा पर्छन् दीपक चलाउने।
समृद्धिको सपना बोकेर क्रान्तिमा होमिएका दीपक एक दशकसम्म लडिरहे। थुप्रै पटक उनको आँखासामुन्ने भएर गयो मृत्यु। सँगै लडाइँमा होमिएका थुप्रै सहकर्मी सहिद बने।
कठोर संघर्ष र चुनौती व्यहोरेर उनी लडिरहे।
तर, अहिले भूमिगत जीवनले दीपकलाई पटक–पटक प्रश्न गरिरहन्छ। ‘जेका लागि लडिएको थियो। त्यो पूरा भएन। जे नहुनुपर्ने थियो त्यो भयो,’ सम्झेर उनी छट्पटाउँछन्।
त्यतिबेला जाजरकोट जिल्ला सैन्य आयोग इन्चार्जको भूमिकामा थिए दीपक। सन्धीखर्क, लहान, बेनी, पीली, खारा, खैरीखोला, सुनवल, पाल्पा र तौलिहवा मोर्चाका किल्लामा लडाइँको नेतृत्वकर्ता थिए उनी।
०००
०३९ तिर जाजरकोटको स्याँक्रीमा विद्यालय थिएन। हुर्कँदै गरेका सन्तानहरू पढाउनु थियो बा–आमालाई। पढाउन शिक्षक चाहिन्थ्यो।
तर अभाव थियो।
गाउँभन्दा परसम्म शिक्षकको खोजी भयो। पाथीमा अन्न उठाएर शिक्षकलाई गाउँलेहरूले पारिश्रमिकको व्यवस्था गरे।
त्यही मेसोमा बालक दीपक चलाउनेले पनि स्कुलको आँगन टेक्ने मौका पाए। उनले गाउँकै स्कुलबाट ०४९ सालमा एसएसलसी पास गरे।
सदरमुकाम खलंगा टाढा थियो। दाइहरू रुकुमको चौरजहारीमा पढ्थे। उनी चौरजहारीकाे शीतल उच्च माविमा भर्ना भए।
कलेजबाटै राजनीतिक यात्रा तय भएको थियो दीपकको। कलेजमा उनले कम्युनिष्ट पार्टी ‘गरिबको पार्टी’ हो भन्ने सुने।
यही शब्दका कारण उनी ‘कम्युनिष्ट’ बने। माओवादी निकट विद्यार्थी संगठनका साथीहरूसँग भेट भएपछि दीपक सक्रिय रुपमा अखिल क्रान्तिकारीमा आबद्ध भए। ०५१ सालमा उनी पार्टीको सेक्युरेटी सेलको ईन्चार्ज बने।
जनयुद्धमा होमिँदा परिवारसँग बिदा मागेको क्षण ताजै छ उनलाई। त्यतिबेला परिवार त्रसित थियो। उनी भने उत्साहित।
उनी जनमुक्ति सेना नेपालको छैठौं डिभिजनको सह–कमाण्डर हुँदा देशमा शान्ति सम्झौता भयो। त्यसपछि माओवादी पक्षले युद्धबिराम लियो। १२ बुँदे शान्ति सम्झौतामार्फत् माओवादी संसदीय राजनीतिको बाटोमा पनि आयो।
युद्धले गिजोलिएको देश क्षतविक्षत भएको थियो। मन र शरीरका घाउ आलै थिए। ‘माओवादीले क्रान्तिको बाटो त्याग्यो। तर हामीले निरन्तर जारी राख्यौं’, उनी भन्छन्।
दीपकलाई सधैं लागिरहन्छ– क्रान्ति कहिल्यै सकिँदैन।
शान्ति सम्झौताताका उनी सुर्खेतमा थिए। त्यतिबेला यो खबरले उनीभित्र खुसी र सशंय दुवै प्रकट गर्यो। यति चाँडै युद्ध विश्राम होला भन्ने लागेको थिएन दीपकलाई।
१२ बुँदै सम्झौतामा सेना समायोजन भयो। तत्कालीन विद्रोही पक्षले हातहतियार राज्यलाई बुझायो। दीपक लगायत धेरै ‘कमरेड’ को विमती थियो यसमा। ‘राज्य र विद्रोही पक्षका दुवै सेनाको असमान समायोजन भएको थियो। त्यो हामीलाई मान्य थिएन,’ उनी भन्छन्।
असहमतिसँगै माओवादी टुक्रियो। मोहन वैद्य किरणको नेतृत्वमा नेकपा (क्रान्तिकारी माओवादी) निर्माण भयो। उनीहरू संर्घषमै रहे।
दीपक त्यतिबेला सेकेन्ड लेफ्टिनेन्ट हुन सक्थे। संसदीय राजनीतिमा भूगोलबाट नेतृत्व गर्ने बाटो पनि खुला थियो। तर उनले संघर्षकै बाटो रोजे।
भूमिगतकालमा उनले नेतृत्व गरेका ‘कमरेड’हरू पटक–पटक मन्त्री र मुख्यमन्त्री भइसकेका छन्। जनयुद्धकालमा दीपकभन्दा जुनियर महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत भइसके। अहिले उनकै सहकर्मीहरूबाट गल्ती दोहोरिएका छन्।
भूमिगतकालमा सेवा बस्नेतसँग जनवादी विवाह भएको थियो दीपकको। अहिले दुवै सामान्य जीवन बिताइरहेका छन्। सेवालाई राजनीतिप्रति वितृष्णा मात्र छ। उनी सुन्न पनि चाहन्नन् राजनीतिका कुरा।
पछि दीपक नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेकपामा गए। दुई वर्ष भूमिगत पनि भए। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगायो। सरकार र विप्लव पक्षबीच वार्ता भयो। वार्तासमूहका एक सदस्य थिए दीपक। तीन बुँदे सहमति सहित विप्लव समूहको प्रतिबन्ध फुकुवा भयो।
अहिले राजनीतिमा उति सक्रिय छैनन् दीपक।
कम्युनिष्ट आन्दोलनकाे एउटा हिस्सा भएका नाताले उनलाई लाग्छ–टुट्फुट हुनु कम्युनिष्टको चरित्र नै हो। तर मुद्दा छोड्नु हुँदैन।
शान्ति प्रक्रियापछि यस्तो अवस्था आउला भन्ने कल्पना गरेका थिएनन् उनले। जे सोचेका थिएनन्। त्यही भयो। ‘राज्यको नयाँ ढंगले पुर्नसंरचना हुन्छ भन्ने लागेको थियो। हुन सकेन,’ उनी भन्छन्।
युद्धका सहकर्मीसँग बेला–बेला कुराकानी हुन्छ दीपकको। मनैदेखि कोही खुशी छैनन्। सत्ता र शक्तिको बागडोरमा बसेका छन् धेरै। ‘तर म सत्ताको मातमा गइनँ। जनतासँग छु। सडकसँग छु,’ उनी गर्विलो भावमा भन्छन्।
तर युद्ध लडेका साथीहरू कहाँ छन्? उनीहरूको परिवार कहाँ छ? जवाफ छैन उनीसँग। जवाफ हिजोको नेतृत्वकर्ताबाट पनि पाउन सक्दैनन् उनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।