सरकार र राष्ट्र छुट्टाछुट्टै हो भन्ने लागेर
-जयस्थिति मल्लको वर्ण व्यवस्था विरूद्ध बोलेझैँ लागेको हो
-लोकतान्त्रिक सरकारको व्यवस्था विरूद्ध बोलेझैँ लागेको हो
-कुसंस्कार र कुप्रवृत्ति विरूद्ध कवितामार्फत् बोलेझैँ लागेको हो
बाजे! तपाईंको सात्त्विक मस्तिष्कमा
कसरी ठोक्किन पुग्यो मेरा शाब्दिक परिकार
र, विचलित हुनुभयो?
मेरो वर्गले भोगेको उत्पीडनको- कथाहरू
मैले पैँतीस वर्ष भोगेको जीवन- कविताहरू
सजिलै भनिदिनु भयो तपाइईंले
"कति पोख्छस् कुण्ठा" भनेर
मैले सोही दिन काव्यको काजक्रिया गरिदिएँ।
मेरा कविताका शब्द विम्बहरूलाई
खुलम् खुल्ला करणी गरिदिनु भयो
तपाईंको उपदेश हो या मेरो उग्र सोच
भन्नुस् न किन ठीक उल्टो भयो?
आरनको चिसो कोइलामा खलाँतीले फुक्दा
हामी दुवैको शिरमा बसिदियो- खरानी
धार बन्यो, मेरै आरनमा मेरो शिरको खरानी
तपाईंको शीरको खरानी, दाप कसरी बन्यो बाजे?
कति उडाउँछस् खरानी भन्नुभयो
मैले सोही दिन खलाँतीलाई खाग बनाइदिएँ।
-सोच परिवर्तन गर्
-नाम र जातमा गर्व गर् भन्नु भयो
असारमा तपाईंको कवि छोरो जन्मिँदा
मेरा वस्त्रमा लागेका दासताको माटो आफैँले पखालेँ
र, सुकिलो बनेँ,
तपाईंले मनुस्मृतिको तातो झिर हातमा लिएर हिँड्दा
मैले मेरा मस्तिष्कलाई पसिनाका पानाहरूले खोलेँ
र, चेतनशील बनेँ
न मलाई सुकिलो देख्नु भयो कहिल्यै, न मलाई चेतनशील ठान्नुभयो
धोएर गाई नहुने उखानझैँ हजुरको संस्कारले कुल्चिरह्यो
-मेरो सोच, सपना र सन्तति।
-आफू को हो चिन् भन्नुभयो
मैले मेरै साहस चिनेँ र अन्टार्कटीकाको पाउ पुछेँ
मैले मेरै अस्तित्व चिनेँ सगरमाथाको शिर पनि सिँगारेँ।
तपाईंले ज्ञानी बन् भन्नुभयो
‘अन्याय सहनु पाप हो। ‘अहिंसा परमो धर्मः।‘
भनी पूर्वीय पढेँ, पश्चिमा पनि नियालेँ
संसारमा लेखेकोभन्दा बोलेको सुन्छन्-हिट्लरले भनेका रहेछन्
मैले गाँठो पारिरहेँ जीवनका भोगाइहरू
र, चुप नै लागेँ।
चुपचापले को-को चुलीमा पुगेका छन् कुन्नि?
हिजो चुपचाप बसेरै हो मेरा पूर्खाहरू
आज हरेकदिन मानव जीवन रेटिरहन्छन् म’हरूको
बगिरहन्छन् भेरी र भेलमा, झुन्डिइरहन्छन् डोरी र खेलमा।
तपाईं अझै चुप लाग् भन्नुहुन्छ
भन्नोस् न बाजे
कति पुस्ताको भविष्यलाई कुल्चिन मन छ अझै
सफा सोचको मोजा लगाएको तपाईंको संस्कारी जुत्ताले।
ब्याजको प्याज तिर्नुपर्दा खलो निफन्न गएकी दिदिलाई
तपाईंका छोराहरूले कुन्यूँपछाडि जबरजस्ती ओछ्याउँदा
-उनी बोलिनन्
उन्साठी वर्ष हली गर्दा पनि कहिल्यै नतिरिने तमसुक खै? भन्न
-हजुरबा बोलेनन्
दुई हजार अट्चालीस सालमा
औँलाले देखाएर जमीन नाप्नुभयो
-बा बोलेनन्।
बाजे
लेकदेखि बेसीसम्मका सबै तपाईंको हुँदा
मेरो बा कसरी घर-घडेरीविहीन भए?
*
यस्तो लाग्छ
गतिशीलतामा त आवाज हुन्छ
जस्तो की
- खलाँतीको भूरभूर,
- हथौडाको टाङटाङटुङटुङ
- लुगा सिलाउने कलको घररर घररर
मैले मलाई किन रोकिरहेछु? मेलै के पर्खिरहेछु?
बाजे!
अब म सहन सक्दिनँ
मैले मेरो पूर्खालाई झैँ
मलाई मेरो सन्ततिले धिक्कार्नुपूर्व
आवाज निकाल्नै पर्छ, केही त बोल्नै पर्छ मैले।
हिट्लरले सही भनेका रहेछन्
‘संसारमा लेखेकोभन्दा बोलेको कुरा सुन्छन्’
मैले गाउँको एउटा धारा पँधेरा छुनै नपाउने
तपाईंले नेपालको संविधान २०२२ को
छुवाछुत तथा जातीय विभेदको धारा लागु नै नगर्ने?
भन्नोस् न बाजे!
मेरो बिलौना र तपाईंको अहम्ता कसरी एकै भयो?
तपाईंजस्तै म र ऊ
यति विधि बर्बरतामा बाँचेको देख्नु भएकै छ
यो बुद्ध जन्मिएको देश, ऋषिमुनिहरूको तपोभूमिमा
मान्छेहरू मान्छे बनेर बाँच्न किन प्राणको भिख मागिरहेछन्?
ऋषि मुनिहरूले उबेला फेरेको श्वास
के थाहा अहिले हामीले पनि उही श्वास फेर्दै छौँ कि
ऋषि मुनिहरूले, तपाईंले र मैले टेकेको जमीन एउटै हो भने
किन तपाईंको भएन
हजारौँ वर्षदेखि जमेको विभेदको जगल्टा कुइँयाउने जिम्मेवारी?
किन कित्ता कित्तामा छुट्टिएर म मान्छे हूँ भन्ने नै बिर्सिएका छौँ?
बाजे!
एक-एक कुण्ठाहरूले आक्रोशको रूप लिँदैछन् है
एकतामा परिणत भएको दिन साठी लाख आक्रोशहरू
घामको सट्टा आगो उदाउनेछ पूर्वबाट
र, उदाउनेछ आगो कविताका एक-एक वाक्यहरू– बारुद बनेर।
होसियार बाजे!
तपाईंकै शास्त्रले भन्छ "अहिंसा परमो धर्मः धर्म हिंसा तथैव च:l"
अहिंसा सबैभन्दा ठूलो धर्म हो
अझै धर्म रक्षार्थ हिंसा पनि उसै प्रकारले श्रेष्ठ हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।