काठमाडौं– पछिल्लो केही समययता पृथ्वीको नजिक धूमकेतु आइरहेको छ। ‘ग्रीन कमेट’का नामबाट परिचित यो धूमकेतु विश्वभर चर्चाको विषय बनेको छ। करिब ५० हजार वर्षपछि यो धूमकेतु पृथ्वीको नजिक आएको हो।
अर्थात् यो धूमकेतु आउनुअघि पृथ्वीमा निएन्डरथल (४० हजार वर्षअघि पृथ्वीमा रहने मानिसको विलुप्त प्रजाति) रहँदै आएका थिए। जब यो धूमकेतुले आफ्नो एक चक्कर पूरा गर्यो त्यसबेलासम्म मानव प्रजाति पूरै आधुनिकतामा परिणत भइसकेको छ।
यसकारण पनि यो धूमकेतुलाई महत्त्व दिइएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार धूमकेतु सौर्यमण्डलको अवशेषबाट बनेको हुन्छ। सरल शब्दमा भन्नुपर्दा धूमकेतुलाई अन्तरिक्षमा रहेका चट्टान र बरफको मिश्रणबाट बनेको पिण्डका रुपमा पनि बुझ्न सकिन्छ।
प्राय: धूमकेतु सूर्यको वरिपरि अण्डाकार चक्रमा परिक्रमा गर्दछन्। जब उनीहरु सूर्यको नजिक आउँछन् तब पछाडि एक लामो पुच्छर देखिन्छ। पुच्छरको निर्माण धूमकेतु सूर्यको नजिक आउँदा गर्मीका कारण बरफ पग्लिनाले हुन्छ।
सन् २०२० मा उत्तरी गोलार्धको कैयौं स्थानमा देखिएको नियो वाइज कमेटको पुच्छर पृथ्वीबाट मानिसले नाङ्गो आँखाले नियालेका थिए।
कस्ता–कस्ता प्रकारका हुन्छन् धूमकेतु?
केही धूमकेतुको कक्ष अपेक्षाकृत छोटो हुन्छ। जबकि केहीको यति लामो हुन्छ कि उसलाई सूर्यको एक चक्कर पूरा गर्नमै हजारौं वर्ष लाग्छ। यस्ता धूमकेतुलाई ‘दीर्घकालीक’ धूमकेतु भनिन्छ।
वैज्ञानिकका अनुसार अधिकांश ‘दीर्घकालीक धूमकेतु’ सूर्यको वरिपरि करिब ३०६ अरब किलोमिटरको दूरीबाट एक हिउँ र बरफ मिश्रित बादलबाट आउँछन्। सूर्यको चारैतर्फ यस्तो बादलले घेरिएको एक आवरण रहेको छ। जसलाई उर्ट क्लाउड पनि भनिन्छ।
धूमकेतु सी/२०२२ इ–३ को जन्म पनि यही उर्ट क्लाउडबाट भएको वैज्ञानिकले बताएका छन्। हरियो रंगका कारण यसलाई ‘ग्रीन कमेट’ भनिएको हो।
यो धूमकेतुको खोज सन् २०२२ मा भएको थियो। बृहस्पतिको नजिक नआउँदासम्म वैज्ञानिकलाई ग्रीन कमेटबारे कुनै जानकारी थिएन।
यो धूमकेतुमा डाय एटोमिक कार्बन (दुई कार्बन परमाणुको एक युग्म) प्रचुर मात्रामा रहेको छ। वैज्ञानिकका अनुसार यसै कार्बन तत्त्वका कारण यो धूमकेतु सूर्यको अल्ट्राभ्वाइलेट किरणमध्ये हरियो रंगलाई मात्र परावर्तित गर्छ र यो हरियो रंगको देखिन्छ।
जनवरी २०२३ मा इन्डियन इन्स्टिच्यूट अफ एस्ट्रोफिजिक्सले सूर्यको नजिक देखिएका बेला यसको एक तस्बिर जारी गरेको थियो। हिमालयन चन्द्र टेलिस्कोपले यो तस्बिर लद्दाखको हनले गाउँबाट खिचेको थियो। र, तस्बिर अनुसार धूमकेतुको रंग स्पष्ट रुपमा हरियो देख्न सकिन्छ।
वैज्ञानिकका अनुसार बिहीबार (२ फेब्रुअरी) यो धूमकेतु पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ। जबकि १० देखि १२ फेब्रुअरीबीच धूमकेतु मंगल ग्रह नजिक पुग्नेछ। त्यसबेला यसलाई उत्तरी गोलार्धमा देख्न सकिने बीबीसीले जनाएको छ।
पृथ्वीबाट करिब ४ करोड २ लाख किलोमिटरको दूरीसम्म आउने बताइएको छ। यो दूरी सूर्यदेखि बुध ग्रहको बराबर हो। बिहीबार राति १० बजे उत्तरी क्षितिजमा यो धूमकेतु उदाउनेछ र शुक्रबार बिहान ११ बजेसम्म देखिनेछ।
तर, यो धूमकेतुलाई नाङ्गो आँखाले भने कमै देख्न सकिनेछ। अपेक्षाकृत त्यति चम्किलो नभएका कारण अन्य धूमकेतु जसरी सबै ठाउँबाट अवलोकन गर्न नसकिने वैज्ञानिकहरुले बताएका छन्।
धूमकेतु किन महत्त्वपूर्ण मानिन्छ?
धूमकेतु सौर्यमण्डलको सुरुआति तत्त्व हो। धूमकेतुको अध्ययनबाट सौर्यमण्डलको निर्माणबारे जानकारी प्राप्त गर्न पनि सकिन्छ। यतिमात्र होइन वैज्ञानिकहरु धूमकेतुको अध्ययनबाट ब्रम्हाण्डकै उत्पत्तिबारे अध्ययन गर्न सकिने बताउँछन्।
कहिलेकाहीँ धूमकेतुको पुच्छरको अवशेष पछाडि नै रहन्छ। जब पृथ्वी यी अवशेषको नजिकबाट गुज्रिन्छ तब यी अवशेषबाट उल्कावृष्टि पनि देखिन्छ। धूमकेतुको कक्षको अध्ययनबाट धूमकेतु कुनै ग्रहसँग ठोक्किने सम्भावना छ या छैन भन्नेबारे पनि जानकारी लिन सकिन्छ।
आजभन्दा करिब ६.५ मिलियन वर्षअघि मेक्सिकोको चिक्सुलब क्षेत्रमा एक विशाल ज्वालामुखि विष्फोट भयो। जसका कारण एक गहिरो खाडल निर्माण भयो। जो आजसम्म पनि अस्तित्वमा छ। एक सिद्धान्तअनुसार यो विष्फोटका कारण डाइनोसरको प्रजातिकै अन्त्य भयो। केही वैज्ञानिक चिक्सुलब क्षेत्रमा एक विशाल चट्टान खसेको बताउँदै आएका छन्। यो कुनै छुद्र ग्रह या धूमकेतु हुनसक्ने अनुमान गरिएको छ।
केही वैज्ञानिकले पृथ्वीमा ‘हेभी बमबार्डमेन्ट’ पनि धूमकेतुकै कारण भएको मान्छन् जसकाे माध्यमबाट आउटर स्पेस हुँदै पृथ्वीमा पानी आएको ठानिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।