काठमाडौं– अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउथ अफ्रिकन रान्ड (दक्षिण अफ्रिकी मुद्रा) २३ हजार २ सय ५० सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ५२ वर्षीय टोपबहादुर बुढा क्षेत्री छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनी कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै दक्षिण अफ्रिका जान लागेका थिए। सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानमा ह्याण्ड ब्याग चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र २०० दरको २१ थान, १०० दरको १ सय ९० थान, २० दरको २ थान र १० दरको १ थान गरी २३ हजार २ सय ५० रान्ड बरामद गरिएको हो।
उनलाई आवश्यक अनुसन्धानको लागि विदेशी मुद्रासहित प्रहरी वृत्त गौशला पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।