काठमाडौं– सोमबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पछाडीपट्टीको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू भागेका थिए। हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रहरी कार्यालयको संयुक्त टोलीले 'सर्च अपरेसन' टोली खटाएर खोजतलास तीव्र पारेको छ।
फरार भएका थुनुवामध्ये मिथिला नगरपालिका–६ का रोशन महतो पक्राउ परेका हुन्। उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ। महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो। महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी कार्य तीव्र बनाएको छ। यस्तै एकैपटक ६ जना थुनुवा फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।