काठमाडौं– ई–सेवाको कर्मचारी भन्दै १९ वर्षीय एक युवकले ३३ जना नेपालीलाई ठगी गरेका छन्।
अनलाइन भुक्तानी सेवा ई–सेवाको कर्मचारी भन्दै रौतहटको माधव नारायण नगरपालिका–२ का १९ वर्षीय शुभम साहले ठगी गरेका हुन्।
विभिन्न ३३ जना नेपालीबाट १६ लाख १३ हजार रुपैयाँ ठगी गरेको पाइएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको छ।
उनले आफू ई–सेवाको कर्मचारी भएको, इसेवा आईडी बैंक खातासँग लिंकअप गर्नुपर्ने, खाता नवीकरण गर्नुपर्ने, केवाईसी फारम अपडेट गर्नुपर्ने, स्टेटमेन्ट भेरिफाइ आदि गर्ने भन्दै ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।
उनले ई–सेवाका ग्राहकहरुको मोबाइल नम्बरमा ओपीटी कोडसमेत पठाइ उक्त कोड मागेर अनधिकृत पहुँच पुर्याएर ठगी गरेको पाइएको छ।
पक्राउ परेका उनलाई ठगीसम्बन्धी कसुरमा कारबाही गर्नका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।