काठमाडौं– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुन: नियुक्त भएका छन्। शेरचन यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन्।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले शेरचनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाका अनुसार सेञ्चुरी कमर्सियल बैंक गाभिने क्रममा शेरचन नै सीईओ हुने सहमति भएको थियो। ‘बैंकका विभिन्न सूचक तथा विवरणको समीक्षासहित उहाँ (शेरचन)लाई ४ वर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो।’ यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए।
४ वर्षे कार्यकालका लागि पुन: नियुक्त भएका सीईओ शेरचनले ग्राहक, सेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। ‘मर्जर भएपछि कर्मचारीहरुबीचको समन्वय, कर्जाको गुणस्तरमा ध्यान, रिकभरीलाई प्राथमिकता, डिजिटल बैंकिङलाई जोड र राष्ट्र बैंकका नीति नियमअनुसार समन्वयसाथ काम गर्नेछु,’ उनले भने, ‘ग्राहकलाई उत्कृष्ट सेवा, अर्थतन्त्रमा योगदान पुर्याउने र सेयरधनीलाई उचित प्रतिफल दिने गरी म अघि बढ्नेछु।’
समस्याग्रस्त किस्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति गरेको ‘जस’ शेरचनलाई दिने गरिन्छ।
शेरचन तत्कालीन प्रभु विकास बैंकको सीईओ थिए। त्यसपछि किस्ट र ग्राण्ड बैंकलाई समाहित गरेपछि प्रभु बैंक बन्यो। किस्ट बैंक गाभिएर प्रभु बैंक भएपछि दोस्रो वरियतामा रहेका उनी तत्कालीन सीईओ कुमार लम्सालले राजीनामा दिएपछि सीईओमा नियुक्त भएका थिए।
शेरचन सीईओ बन्दा प्रभु बैंकको खराव कर्जा अधिक थियो। उनको कार्यकालमा खराब कर्जाको असुलीमा उल्लेख्य प्रगति भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।