प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ। माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित भए माघ ७ गते उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भइन्। निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन्। कुनै दलको नेता भएर सभामुखले काम गर्नुभएको छ, भन्नेजस्ता विगतमा लाग्ने गरेका आरोपहरूबाट टाढा रहने चुनौती अहिलेका सभामुख र उपसभामुखलाई रहेको छ। दुवैले पार्टीगत रुपमा टाढा रहेर पार्टीका कुनै क्रियाकलपमा सहभागी नबनी सदनको भूमिका तटस्थ रुपमा निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। यसको परीक्षा आगामी दिनमा हुँदै जाने नै छ।
सभामुखले संसद्को नेता (सभामुख)को रुपमा तटस्थ भूमिका निर्वाह गर्नुपर्छ। आफ्नो भूमिका कुनै दलगत नभइ सभामुखको रुपमा रहने सभामुख घिमिरेले बताइसकेका छन्। उनले नयाँ दल र नयाँ नेताहरू भएपनि दलगत प्रणालीबाटै आएकाले आधारभूत रुपबाट खासै फरक नरहेको पनि बताए। सभामुखको आगामी काम, कर्तव्य र संसद्मा आफ्नो भूमिकाबारे सभामुख घिमिरेले न्युज एजेन्सी नेपालसँग गरेको कुराकानी :
प्रतिनिधि सभालाई कसरी हेर्नुभएको छ? कसरी बुझ्नुभएको छ?
प्रतिनिधि सभा स्वाभाविक रुपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरूको सभा हो। अथवा जनताको सार्वभौम सत्ता प्रयोग हुने थलो हो। जसरी आएको छ, हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरूसहितको आएको छ। र, संख्याको हिसाबले अलि ठूलो संख्यामा आएको छ। अनुभवको हिसाबले पनि अलि नयाँ नयाँ पार्टी, नयाँ नयाँ नेताहरू आउँदा त्यो खालको अनुभव भन्दा बाहिरका अनुभवहरूसहित आउनुभएको छ। त्यो बाहेक एउटा प्रणालीबाट आउनुभएको छ। पार्टीबाट आउनुभएको छ र दलगत प्रणालीमा आउनुभएको दलको हिसाबबाटै चल्नुहुन्छ। चल्नुपर्छ। त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वाभाविक हो। तर आधारभूत रुपबाट त्यस्तो खास फरक छैन। त्यस्तो नयाँ मैले महशुस गरेको छैन।
परम्परागत रुपमा रहेका राजनीतिक शक्ति र उनीहरूको प्रतिस्पर्धीका रुपमा आएका शक्तिहरूबीचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ। तपाईं सभाको रेफ्रीको भूमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ?
एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ। खेलका नियमहरू भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतिसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुराहरू हुन्छ। त्यो दिशामा सबै माननीयज्यूहरूहरूले भूमिका निर्वाह गर्नुहुन्छ। जिम्मेवार नेताहरूको थलो भएको हुनाले, जिम्मेवार पार्टीहरू त्यहाँ भएको हुँदाखेरी जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतिहरूलाई समाधान गर्न सकिन्छ। गर्नुहुन्छ। त्यो सहयोग मैले पाउँछु भन्ने मेरो बलियो आत्मविश्वास रहेको छ।
अहिलेको संसद् र सरकार त्रिशंकु छ। सरकार आफू बलियो भइराख्न संसद्को सबैभन्दा बढी सहारा खोज्ने गर्छ। यस्तो बेलामा तपाईं निरपेक्ष तटस्थ हुने कि सापेक्ष सहयोगी हुने?
राजनीतिले नै सबै कुराको छिनोफानो गर्छ। यो राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो। त्यसलाई निकास दिनकै लागि तद्नुकुलकै यसका व्यवस्थाहरू गरेका हुन्छन्। भन्नाले ऐन पनि तद्नुकुल बनेको हुन्छ। नियमावली पनि तद्नुकुल बनेको हुन्छ। निष्कर्ष पनि तद्नुकुल नै निस्किन्छ। त्यही दिशाबाट जाँदा संसद्को स्वरुप सरकारमा हुनु स्वाभाविक छ। सरकार संसद्माथि निर्भर हुनुपनि स्वाभाविक छ। तर, त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु।
संसद्भित्र सांसदहरूको प्रस्तुति, भाषा, शैली खस्किँदै गएको भन्ने गरिन्छ। संसद्को गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ?
यसलाई फर्काउने र धेरै अगाडि बढिसकेको वा हिजो यस्तो चाहिँ बेठिक थियो भनेर धेरै टिप्पणी गर्ने भन्दापनि ठीक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ। त्यो सोच्नका लागि मूलतः जिम्मेवार राजनीतिक पार्टीहरू र निर्वाचित भएर आउनुभएका आम सांसदहरू हामी कुन ठाउँमा छौँ? हाम्रो गरिमा के हो? हाम्रो महत्त्व के हो? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ? मान्न योग्यहरूले गर्ने व्यवहारहरू के हुन्छन्? तरिकाहरू के हुन्छन्? प्रणालीहरू के हुन्छन्? भन्ने कुरामा कहीँकतै कमजोरीहरू विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भीर बनाउनुपर्छ।
र, गम्भीर बनाउने मामिलामा सबैको दायित्व छ। मैले एउटा जिम्मेवारीमा बसेर यो भावनाका साथ काम गर्छु भन्ने सञ्चारको हिसाबले भन्ने हो भनेदेखि यहाँहरूको पनि त्यो दिशामा सहयोग हुँदै आएको छ र अरु बढी सहयोगको जरुरी पनि पर्नसक्छ भन्ने मलाई लाग्छ।
संघीय संसद् विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरूको अजेण्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ। यी अवाञ्छित क्रियाकलापहरूबारे तपाईंको बुझाई के छ?
यहाँले जुन तहमा भन्नुभयो अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन।
संसदीय गतिविधिलाई बाहिर लैजान नियमित रुपमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूको अहम् भुमिका हुन्छ, पत्रकारहरूमार्फत संसद्का विषयवस्तुहरूको सही सम्प्रेषणका लागि कस्तो भूमिका हुन्छ?
विगतबाट शिक्षा लिनु नै पर्छ। विगतमा त्यस्ता नकारात्मक शिक्षाहरू केही छन्, त्यस्ता केही घटनाहरू छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिनापूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने गर्नुपर्छ। पक्ष, विपक्ष भएर आएको छ भने दुइवटै पक्षहरू यसमा जिम्मेवार भएर अगाडि बढ्नुपर्छ। राम्रो वातावरण बनाएर संसद्लाई प्रभावकारी पार्ने कुरामा सबै पक्षका बीचमा मिलाएर जानुपर्छ। यो महत्त्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।