काठमाडौं– क्रसरको विरोध गरेपछि हत्या गरिएका दीलिप महतोको मुद्दामा धनुषा जिल्ला अदालतले ‘प्रतिवेदनका व्यक्ति बुझ्ने’ आदेश जारी गरेको छ। दीलिपको हत्यापछि प्रहरीले घटनास्थलको मुचुल्का नै संकलन नगरी शव उठाइएको पाएको थियो।
बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चित्र बहादुर गुरुङको इजलासमा पेसी तोकिएको थियो। महतोको मुद्दामा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु हुने अपेक्षा गरिएकोमा घटनास्थल मुचुल्का नभेटिएको भन्दै सोसँग सम्बन्धित ‘प्रतिवेदनका व्यक्ति’ (प्रहरी कर्मचारी) बुझ्ने आदेश भएको हो।
जिल्ला अदालत धनुषामा विचाराधीन रहेको उक्त मुद्दा यसअघि पटक–पटक स्थगित हुँदै आएको छ। यसअघि मंसिर २९ गते अन्तिम सुनुवाइ सुरु भएको हो। धनुषा जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंको इजलासमा भएको सुनुवाइमा केही सरकारी साक्षीहरुको वकपत्र भएको नपाइएपछि उनीहरुलाई वकपत्र गराउने आदेश गरेको थियो।
स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दीलिपको २०७६ पुस २२ गते हत्या गरिएको थियो। क्रसर व्यवसायीले फलामको सुइरो रोपी, कुटपिट गरी बेहोस बनाएपछि टिपरले टाउको कुल्चाएर बीभत्स ढंगले हत्या गरिएको जाहेरीमा उल्लेख छ।
दीलिपका बुवा रामजनम महतोले ७ जनाविरुद्ध जाहेरी दिएका थिए। जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिपर चालक मुनीन्द्र महतो, टिपरका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगै गएका दीलिपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन कैद सजायको माग गरिएको थियो। ६ जना तत्कालै पक्राउ परेका थिए।
थुनछेकको बहसका लागि भएको सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र जितेन्द्रकुमारलाई मात्रै मुद्दाको फैसला नहुन्जेल थुनामा राख्न तथा रोशन, सत्यनारायण र शत्रुघनलाई धरौटीमा छाड्न आदेश दिएको थियो। एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका विनोदलाई २०७७ असोज २६ मा साधारण तारेखमा छाडिएको थियो।
त्यसपछि यो मुद्दा पटक–पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। हत्याका अभियुक्तको तर्फका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्दै आएका थिए। त्यसको विरोध हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।