काठमाडौं– मंगलबार संसद् भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले माफी मागेका छन्।
बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो। त्यसपछि सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले त्यो अवस्थाबाट आफूहरुले रोक्न नसकेको भन्दै माफी मागेका हुन्।
उनले नयाँ अनुहारका रुपमा आफूहरु सरकारमा सहभागी भए पनि उत्साह थप्न नसकेको र आशा जगाउन नसकेको भन्दै माफी मागेका छन्। उनले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्नबाहेक अरु केही बाँकी नरहेको बताएका छन्।
उनले भनेका छन्, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनलेसमेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।