काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसदले आफ्नो पार्टीलाई प्रतिनिधि सभाको प्रमुख विपक्षी दल तोक्न माग गर्दै सभामुखलाई सम्बोधन गर्दै निवेदन दिएका छन्।
उपसभामुखको निर्वाचनअघि जारी छलफलमा भाग लिने क्रममा उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो पार्टीको रुपमा नेमकिपालाई प्रमुख विपक्षी दल तोक्न माग गरेका हुन्। 'कानुनी व्यवस्था अनुसार नेपाल मजदुर किसान पार्टीले सभामुख महोदयलाई सम्बोधन गरी लिखित आग्रह गर्दछु। र सचिवालयका महासचिवमार्फत् हाम्रो निवेदन पेश गर्न चाहन्छु', निवेदन पेश गर्दै उनले भने।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २ (ङ) (४) अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने राजनीतिक दल प्रमुख विपक्षी दल हुने अवस्था नरहेको बताए। 'यो ऐन अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाल मजदुर किसान पार्टीलाई सभामुख महोदयबाट प्रतिनिधि सभाको प्रमुख विपक्षी दल तोकिदिनु जरुरी छ', उनले भने।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका कारण प्रमुख विपक्षी दल को हुन् भन्ने अन्याेल रहँदै आएको छ। त्यसपछि नेमकिपाले आफ्नो दललाई प्रमुख विपक्षी तोक्न माग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।