काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुवना श्रेष्ठले भ्रष्टाचारको कुरा सबैले उठाएको तर कहिले छानबिन हुन्छ भन्दै प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको उपसभामुख निर्वाचनको प्रस्तावको समर्थन गर्न रोष्टममा पुगेकी उनले भ्रष्टाचार, अस्पतालमा जनशक्ती अभाव, हवाई सुरक्षा र मिटरब्याजको समस्या कहिले टुंगिन्छ भन्दै प्रश्न गरिन्।
उनले यसको सुरुवात कहिले हुने हो भन्ने विषयमा कुनै टुंगो आफूले नदेखेको बताइन्। राजनीतिक भागबण्डा गर्न पनि यत्रो समय लागेको भन्दै उनले संसदीय क्यालेन्डर बनाउन माग गरिन्।
उनले भ्रष्टाचार नियन्त्रणका लागि कडा पहल थाल्न माग गरिन्। उनले संसद्लाई राजनीतिक खिचातानीको थलो नबनाउन पनि माग गरेकी छन्। ‘हरेक निर्वाचनमा कहिले शुसासन , कहिले समृद्धि र कहिले विकास भनेर जाने तर जितेर आएपछि ती आश्वासन कहिले पूरा हुँदैनन्’, उनले भनिन्।
सत्तारुढ दलबाट उम्मेदवार बनेकी इन्दिरा राना मगरलाई उपसभामुखमा समर्थन गर्दै उनले अब जनताका लागि काम गर्नुपर्ने बेला आएको बताइन्। उनले सदनबाट चेली नभनी ५० प्रतिशत पुर्याउन माग गरिन्। इन्दिरा राना अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत भएकाले उनी निर्वाचित हुँदा सदनको गरिमा नै बढ्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।