काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले सभामुखमा पनि विगतमा राष्ट्रिय सहमति हुने भए पनि यसपटक सत्ता पक्षका कारण नभएको आरोप लगाए।
उपसभामुख चयनका लागि जारी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्वपक्षीय सहमतिका लागि आफूहरुले पनि विश्वासको मत दिएको तर अहिले यसको सबै हरण भएको दाबी गरे।
उपसभामुख संवैधानिक परिषद्मा पनि सदस्य रहने भएकाले भागबण्डामा साँचोको रुपमा रहने उनले बताए। ‘नयाँ दलहरुले भागबण्डाको सुरुदेखि नै विरोध गर्नुभएको छ। अब त्यो व्यवहारमा देख्न पाइयोस्’, उनले भने।
कांग्रेसबाट उपसभामुखकी उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाघ समर्थन गर्दै उनले सदनमा हाँक्ने क्षमता यादवमा भएको दाबी गरे। उनले भने, ’मधेसमा महिलाहरुलाई जागरुक बनाउने अभियानमा लागेको व्यक्ति हो उहाँ। त्यो काम त्यति सहज थिएन। अनेक उपेक्षित र पीडित महिलालाई जागरुक गराउने अभियानमा उहाँको जितले सहयोग पुग्छ।’
भौगोलिक विविधता र अनुभवको आधारमा यादव उपसभामुख पदको हकदार भएकाले सबैलाई मतदान गर्न उनले अपिल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।