काठमाडौं- नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुखको पदमा बस्ने व्यक्तिले पार्टी विभाजनमा भूमिका खेल्न नहुने बताएका छन्। शनिबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्ने क्रममा उनले सभामुखलाई निष्पक्ष भूमिका खेल्न सुझाएका हुन्।
उनले फुट्नै आँटेको दल छ भने पनि सभामुखले फुटाउनका लागि भूमिका खेल्न नहुने बताए। ‘सभामुख र उपसभामुख दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ। तर सभामुख जस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नुहुँदैन’, उनले भने।
कुनै राजनीतिक दलको स्वार्थमा सभामुख जाँदा इतिहासमा त्यसलाई कालो रुपमा सम्झने उनको चेतावनी छ। ‘म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न। पुराना सभासदको नाम पनि बिर्सिसकेँ। तर फर्केर हेर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरु कसैले भूमिका खेलेन, सभामुख जस्तो गरिमामय पदबाट त्यो भूमिका खेलियो’, उनले भने।
उनले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटालाई लक्षित गर्दै विगतका सभामुखले दल विभाजनका अध्यादेश कुरेको बताए। वर्तमान सभामुखबाट आफूले त्यस्तो व्यवहार नचाहेको उनको भनाइ छ।
‘सभामुख र उपसभामुख सिंगो हलको रेफ्री हो। दायाँ र बायाँको बीचको आसन हो। त्यो आसन दायाँतिर वा बायाँतिर हेरेर बडील्यांग्वेज नदिनुस्। सिधा नजर लगाउनुस्। दुईटा आँखा दुईतिर लगाउनुस्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।