काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले शुक्रबार जारी गृहमन्त्रालयको सूचनाको आलोचना गरेका हुन्।
एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पटक–पटक मौखिक निर्देशन भएको भए पनि पक्राउ नपरेकोमा गृहमन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ’, वक्तव्यमा छ।
नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्न जाने परम्परा सुरुवात भएको भन्दै खतिवडाले असन्तुष्टि जनाए।
‘गृहमन्त्रालयमा पदभार ग्रहण गर्नुभएका धेरै जना यो संसद्मा हुनुहुन्छ। गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय जस्ता संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो, बडा चिन्ताको विषय बनेको छ’, उनले भने।
खतिवडाले थपे- ‘गृहमन्त्री बालपनको, केटाकेटीपनको प्रदर्शन गर्नुभएन। के गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो? जनतालाई ढाँट्नका लागि सूचना प्रकाशित गरिएको हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।