धनगढी– सुदूरपश्चिम प्रदेश सभा स्थापना भएको आज पाँच वर्ष पूरा भएको छ। २०७४ साल माघ ७ गते प्रदेश सभाको स्थापना भएको थियो।
सोही दिनलाई आधार मान्दै हरेक वर्ष भव्यताका साथ दिवस मनाइने गरिएको छ। पाँच वर्ष पूरा भई छैटौ वर्षमा प्रवेश गरिरहेको प्रदेश सभालाई सजावट गरिएको छ।
चियापान, स्थापना दिवसको अवसरमा भव्य कार्यक्रम, दीप प्रज्वलन, सम्मान लगायतका कार्यक्रम गर्दै दिवस मनाइन लागेको हो। पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रवेश गरेको प्रदेश सभाले नयाँ सदस्य, सभामुख र उपसभामुख तथा संसदीय दलका नेता पाइसकेको छ।
यस्तै संसदीय विषयगत समिति भने गठन हुन सकेको छैन। दोस्रो कार्यकालको प्रदेश सभाको पहिलो अधिवेशनमा पाँच वटा बैठक बसेका छन्। बैठकले सभामुख, उपसभामुख निर्वाचित गरिसकेको छ भने कानुन निर्माणको अधिवेशनका रुपमा रहेको हिउँदे अधिवेशनले नयाँ ऐन भने प्राप्त गरिसकेको छंन।
सुदूरपश्चिम प्रदेश सभाले पाँच वर्षको अवधिमा सरकार सञ्चालन र सेवा प्रवाह गर्ने ६७ वटा कानुन निर्माण गरेको छ। सभाबाट पारित भएका विधेयक पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्।
प्रदेशको नाम र राजधानी प्रमुख उपलब्धि
प्रदेश सभाले २०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पारित गरेको थियो।
प्रदेश सभाको पाँच वर्षे कार्यकालको मुख्य उपलब्धिका रुपमा यी दुई कामलाई लिइएको छ। तर, प्रदेश सरकारले राजधानी घोषणा गरे पनि हालसम्म भौतिक संरचना निर्माण लगायतका कुनै पनि प्रगति भने गर्न सकेको छैन।
नवनिर्वाचित प्रदेश सभा सदस्य तथा प्रदेश सरकारलाई राजधानी कार्यान्वयन गर्नु र जनचासोका ऐन निर्माण गर्नु आगामी चुनौती रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।