धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा सञ्चालित आयोजनाको विवरण पेश गर्न आयोजना कार्यालयलाई निर्देशन दिएको छ।
आयोजनाका नाममा जथाभावी चलेका क्रसरलाई व्यवस्थित गर्न गराउन कार्यालयहरूलाई सो निर्देशन दिएको हो।
जिल्लामा आयोजनाका नाममा जथाभावी क्रसर संचालन भएको पाइएकाले नियन्त्रण गर्न जरुरी रहेकाले कार्यालयले सोमबारभित्र विवरण पेश गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
आयोजना कहिले सञ्चालन भएको? सम्पन्न हुने मिति, के–कति नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) आवश्यक हो र कति मौज्दात रहेको छ भनेर विस्तृत विवरण माग गरिएको उनले बताए।
प्रशासनले जिल्लामा अबैध रूपमा सञ्चालनमा रहेका चारवटा क्रसर कम्पनीलाई बन्द गर्न निर्देशन दिइसकेको छ भने आयोजनाका नाममा जथाभावी सञ्चालनमा रहेका क्रसरलाई नियन्त्रण गर्न विवरण माग गरिएको उनले जानकारी दिए।
'क्रसरलाई बन्द गराइँदा विकास निर्माणमा अप्ठ्यारो हुन्छ। ठप्पै बन्द गर्न त भन्न सकिँदैन। तर, कानुनसम्मत ढंगले आयोजनाका नाममा रहेका क्रसर जानुपर्छ,' उनले भने।
शुक्रबार सहायक प्रजिअ जोशीको अध्यक्षतामा आयोजना कार्यालयका पदाधिकारी तथा कन्स्ट्रक्सन सञ्चालक लगायतसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।